नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
भारतद्वारा क्यानेडियन नागरिकलाई भिसामा रोक

भारतद्वारा क्यानेडियन नागरिकलाई भिसामा रोक

असोज ५, नयाँदिल्ली । भारतले क्यानडाका नागरिकका लागि यात्रा अनुमति (भिसा) सेवा बन्द गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले असुरक्षाका कारण क्यानडामा रहेको भिसा एप्लिकेसन सेन्टर बन्द गरिएको बताए ।

क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र कार्यालयमाथि लगातार धम्की आइरहेकाले भिसाको कार्य बन्द गर्नुपरेको उनको भनाइ छ । ‘धम्कीका कारण भारतीय कूटनीतिज्ञले आफ्नो काम गर्ने स्थिति छैन,’ पत्रकार सम्मेलनमा बागचीले भने । क्यानडामा भारतको उच्च आयोग र वाणिज्य दूतावासले खतराको सामना गरिरहेको समेत उनले बताए ।

क्यानडामा भारतीय नागरिकलाई असुरक्षा रहेको भन्दै सतर्क रहन एक दिनअघि मात्रै एड्भाइजरी जारी गरिएको थियो । क्यानडा सरकारले त्यसलाई अस्वीकार गर्दै कुनै असुरक्षा नरहेको भन्दै प्रतिवाद गरेको थियो । त्यसअघि क्यानडा सरकारले पनि आफ्ना नगरिकलाई भारतको जम्मु–कश्मीर तथा नर्थ इस्टका क्षेत्रमा असुरक्षा रहेको भन्दै त्यता भ्रमण नगर्न एड्भाइजरी जारी गरेको थियो । पत्रकार सम्मेलनमा बागचीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएको आरोपलाई आधारहीन र राजनीति प्रेरित भनेका छन् । उनले अहिलेसम्म क्यानडा सरकारले त्यस मामिलामा कुनै पनि सबुत प्रमाण भारत सरकारलाई उपलब्ध नगराएको बताए । क्यानडाको भूमिमा भारतविरोधी आपराधिक घटना भइरहेको र त्यसको जानकारी भारतले गराए पनि क्यानडा सरकारका तर्फबाट कुनै कारबाही नभएको बताएका छन् ।

 

२२ Sep २०२३ , ७:५६am
हाम्रो आवाज