नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
गाजाको अस्पतालमा भएको हवाई हमलामा परी कम्तीमा पाँच सयको मृत्यु

गाजाको अस्पतालमा भएको हवाई हमलामा परी कम्तीमा पाँच सयको मृत्यु

कार्तिक १, काठमाण्डौं। संयुक्त राष्ट्रसंघ, मानवअधिकार प्रमुख भोल्कर टर्कले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको निन्दा गरेका छन्।

स्तब्ध छु। आज राति, सयौं मानिसहरू- भयानक रूपमा- गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र अस्पतालमा आश्रय खोजिरहेका परिवार मारिए। पुनः निरीहहरू मारिए। यो पूर्णतः अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ। 

उनले यो नरसंहारको पूर्ण मात्रा थाहा नभए पनि हिंसा र हत्या पूर्णरूपमा रोकिनुपर्ने बताएका छन्।

यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै बिरामी, स्वास्थ्यकर्मी र विस्थापित मानिसहरू त्यहाँ आश्रय लिइरहेको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार आक्रमणमा कम्तीमा पाँच सय प्यालेस्टाइनी मारिएका छन्।  स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार अस्पतालमा रकेट ठोक्किएर ठूलो विस्फोट भएको थियो। यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २० मध्ये एक हो।

राजनीतिक तथा सैन्य संगठन हमासले यस हमलालाई ‘युद्ध अपराध’को संज्ञा दिएको छ। प्यालेस्टाइनी सिभिल डिफेन्सका अनुसार सन् २००८ यता भएका पाँच युद्धमध्ये यो सबैभन्दा भयानक इजरायली हवाई हमला हो।

ईरान, क्यानडा, टर्किए, कतार, इजिप्ट, जोर्डन लगायत मुलुकले पनि घटनाप्रति खेद प्रकट गर्दै यसलाई अमानवीय र अस्वीकार्य भएको बताएका छन्।

गत अक्टुबर ७ देखि शुरू भएको युद्धमा परी हालसम्म गाजामा तीन हजार मानिस मारिइसकेका छन्। यस्तै, इजरायलमा एक हजार ४०० मानिस मारिएका छन्।

१८ Oct २०२३ , १०:४८am
हाम्रो आवाज