
बालिका हत्या आरोपमा बाँकेमा एक जना कारागार चलान
मंशिर १२, बाँके। बाँकेमा बालिका हत्या आरोपमा एक जना लाई कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत कार्तिक १४ गते डुडुवा गाउँपालिका वडा नम्बर १ टेपरीमा भारतको बहराइच बाबागंज बस्ने ३० वर्षीय महेश चौहानले रामकुमार बाहुनको खेत ट्याक्टरले जोत्ने क्रममा खेतमा गाडिएको अवस्थामा अन्दाजी बर्ष १२ की बालिकाको शव फेला परेको सूचना प्राप्त भएपछि घटनास्थलमा खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेकी बालिका सोही ठाउँ वस्ने श्यामलाल चमारकी १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमार रहेको पत्ता लगाएको थियो ।
प्रहरीले तत्पश्चात तत्काल ट्रेक्टर चालक चौहानलाई शंका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा बालिकालाई चौहानले नै कर्तव्य गरी मारेको निर्क्यौलपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा पेश गरेको थियो । बाँके जिल्ला अदालतको आदेशबाट सोमबार चौहान पुर्पक्षका लागि जिल्ला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन ।