
जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै
मंसिर २५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । बैठकमा गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा हुने जसपाले जनाएको छ ।
उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुने छ । उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन् ।
पहिचानका राष्ट्रिय समितिहरु मध्येका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति , ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन् । बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन् ।
जसपाको मधेस प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन् । यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन् । जसमध्ये ८० वटा पालिका समिति मधेस प्रदेशअन्तर्गतका रहेका छन् ।
मधेस प्रदेश समितिले पालिका समितिपश्चात जिल्ला समिति र जिल्ला समिति पुनर्गठन गरेपश्चात प्रदेश समिति पुनर्गठन गर्ने गरी कार्य गरिरहेको छ । ३ महिने अभियानको दौरान जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।