नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु सुरु

वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु सुरु

फागुन ७, वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ । कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ । 

रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो । सोही क्रममा विवाद उत्पन्न भएपछि अवस्था सामान्य बनाउनका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

१९ Feb २०२४ , ५:१०pm
हाम्रो आवाज