नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

EnglishEN
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

फागुन १८, काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ । आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश (१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने भएको हो ।

निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो । 

बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो । 

प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको रास्वपाले बझाङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री मुकुल ढकालले हाम्रो आवाजलाई बताए । उनले भने, ‘२०७९ को निर्वाचनमा प्रदेशको वर्तमान संरचनाप्रति विमति जनाएर हामीले उम्मेदवारी दिएनौं । उपनिर्वाचनमा पनि रास्वजपाले उम्मेदवारी दिँदैन ।’ प्रदेशसभाबारे नयाँ निर्णय नलिएसम्म रास्वपाले उम्मेदवारी नदिने महामन्त्री ढकालको भनाइ छ । ‘२०८४ मा के गर्ने भन्ने विषय पार्टीमा छलफल भएपछि एउटा निर्णयमा पुग्छौँ । अहिले उपनिर्वाचनमा सहभागी सहभागी नहुने नै कुरा छ । एउटा सिटमा उम्मेदवारी दिएर के अर्थ भन्ने छ,’ उनले भने ।

रास्वपाले प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको इलाम २ मा आफूलाई केन्द्रित गरेको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम पठाएको छ भने आज रास्वपाका ७ जना सांसद इलाम जाँदैछन् । गत वैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाले चितवन—२ र तनहुँ १ मा बाजी मारेको थियो । चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने पुनर्निर्वाचित हुँदा तनहुँ—१ बाट उपसभापति स्वर्णिम वाग्ले विजयी भएका थिए ।

 

१ Mar २०२४ , ५:५५pm
हाम्रो आवाज