नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री ।

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री ।

 

काठमाडौँ, ३० वैशाखः प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । 

    “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” 

    पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा बिस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताउनुभयो । 

    “नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य छ भन्ने देखाएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।” नेपालका अस्पतालमा नर्स बिरामीको अनुपातअनुसार दरबन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

१२ May २०२४ , ३:०४pm
हाम्रो आवाज