इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न राष्ट्रसंघको आग्रह,
मंसिर २७,
एजेन्सी - संयुक्त राष्ट्रसंघका यातना मामिला हेर्ने विज्ञ एलिस जिल एडवड्र्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारेका रिपोर्टमाथि तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले यस्तो परिस्थितिलाई यातना वा अरू अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् ।
एडवड्र्सले भनिन्, “म पाकिस्तानी अधिकारीहरूलाई इमरान खानको हिरासतका सर्त अन्तर्राष्ट्रिय मापदण्ड र मानकसँग पूर्ण रूपमा अनुरूप छन् भनी सुनिश्चित गर्न अपिल गर्छु ।”
उनका अनुसार, सन् २०२३ सेप्टेम्बर २६ मा रावलपिण्डीस्थित अडियाला जेलमा सारिएदेखि इमरानलाई लामो समयसम्म एकान्त कारावासमा राखिएको छ । उनलाई दिनको २३ घण्टा एकान्त कोठरीमा बन्द गरिन्छ । र, बाहिरी संसारसँगको सम्पर्क अत्यन्त सीमित गरिएको छ ।

