नेपाली समय:

वि.सं २०८३ जेठ १   शुक्रवार

EnglishEN
सरकारी बेरुजु ८८ अर्ब नाघ्यो,

सरकारी बेरुजु ८८ अर्ब नाघ्यो,

जेठ-१

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सरकारी बेरुजु उल्लेखनीय रूपमा बढेको तथ्य सार्वजनिक गरेको छ।

 

शुक्रवार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६३औँ वार्षिक प्रतिवेदन पेश गर्दै यस वर्ष बेरुजु ८८ अर्ब रुपैयाँभन्दा बढी पुगेको जानकारी दिएका हुन् ।

 

प्रतिवेदनअनुसार पाँच हजार ५२६ सरकारी तथा सार्वजनिक

निकायको कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो। यस क्रममा संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न समिति एवं संस्थाहरूको आर्थिक कारोबार परीक्षण गरिएको हो।

 

महालेखापरीक्षक रायाका अनुसार यस वर्ष कायम भएको कुल बेरुजुमध्ये संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा धेरै ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रदेश सरकारी कार्यालयमा पाँच अर्ब २२ करोड ८७ लाख, स्थानीय तहमा १९ अर्ब चार करोड ७७ लाख तथा समिति एवं अन्य संस्थामा १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ बेरुजु देखिएको छ ।

 

अद्यावधिक बेरुजु भने सात खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ, जुन गत वर्षको तुलनामा करिब तीन प्रतिशतले बढी हो। संघीय कार्यालयतर्फ मात्र तीन खर्ब ७८ अर्बभन्दा बढी बेरुजु रहेको छ भने स्थानीय तहमा दुई खर्ब २० अर्ब रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । 

२ घण्टा पहिले
हाम्रो आवाज