नेपाली समय:

वि.सं २०८३ आषाढ २८   आइतबार

EnglishEN
ओमानको तट नजिकै व्यापारिक जहाजमाथि आक्रमण,भारतीय चालक दलका सदस्य बेपत्ता,

ओमानको तट नजिकै व्यापारिक जहाजमाथि आक्रमण,भारतीय चालक दलका सदस्य बेपत्ता,

असार-२८

 

एजेन्सी -भारतको विदेश मन्त्रालयले आइतबार ओमानको तट नजिकै भारतीय चालक दलका सदस्यहरू सवार एक व्यापारिक जहाजमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ । पश्चिम एसियामा व्यापारिक ढुवानीमाथि भइरहेका निरन्तर आक्रमणहरू अत्यन्तै चिन्ताजनक भएको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक विज्ञप्ति जारी गर्दै जहाजमा सवार ११ भारतीय नागरिकमध्ये १० जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।

ओमानस्थित भारतीय दूतावासले स्थितिलाई नजिकबाट नियालिरहेको र जारी खोजी तथा उद्धार कार्यमा ओमानका अधिकारीहरूसँग समन्वय गरिरहेको जायसवालले बताए । ‘आज बिहान ओमानको तट नजिकै व्यापारिक जहाज जीएफएस ग्यालेक्सीमाथि भएको आक्रमणको हामी निन्दा गर्छाैं । जहाजमा रहेका ११ भारतीय नागरिकमध्ये अहिलेसम्म १० जनाको उद्धार गरिएको छ भने एकजना भारतीय नागरिक बेपत्ता रहेको खबर छ,’ जायसवालले भने ।

उनले थपे, ‘ओमानस्थित हाम्रो दूतावासले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र खोजी तथा उद्धार कार्यमा ओमानका अधिकारीहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेको छ । हामी ओमानका अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिन्छौं ।’

यसका साथै विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र इरानबीचको तनाव घटाउन र पश्चिम एसियामा तत्काल स्थिति सहज बनाउन नयाँ दिल्लीको आह्वानलाई पुनः दोहोर्याएका छन् ।

८ घण्टा पहिले
हाम्रो आवाज