भारतमा विद्यार्थी आन्दोलन थप चर्कियो, शिक्षामन्त्रीको राजीनामा प्रमुख माग,
साउन- ७
काठमाडौं - भारतमा परीक्षा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर जारी आन्दोलन थप चर्किएको छ। जंतर–मन्तरमा प्रदर्शनरत ककरोच जनता पार्टी (सीजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आफ्नो प्रमुख माग रहेको दोहोर्याउँदै आन्दोलन जारी राखेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पेपर लिकमा संलग्न व्यक्तिमाथि छिटो र कडा कारबाही सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत गठन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले युवाको भविष्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई नछाडिने बताएका छन्।
तर आन्दोलनरत सीजेपीले प्रधानमन्त्रीको घोषणाले मात्र समस्या समाधान नहुने बताएको छ। पार्टीका प्रवक्ता सौरभ दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ‘सम्झौताहीन माग’ भएको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
सीजेपीका संस्थापक अभिजित दिप्केले पनि सरकारले दिल्ली नै बन्द गर्न तयार भए पनि शिक्षामन्त्रीलाई पदबाट हटाउन तयार नभएको टिप्पणी गरेका छन्। उनले आन्दोलनलाई कमजोर बनाउन षड्यन्त्रपूर्वक सरकारले आफ्नो व्यक्तिहरू पठाएर तनाव सिर्जना गर्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।
यसैबीच आन्दोलनलाई समर्थन गरिरहेका अभियन्ता सोनम वाङ्चुकले आन्दोलनमा सहभागी विद्यार्थी र युवामाथि कुनै प्रतिशोधात्मक कारबाही नहुने स्पष्ट सरकारी प्रतिबद्धता आएमा आफूले अनिश्चितकालीन आमरण अनशन अन्त्य गर्न सक्ने बताएका छन्

