सुनसरी घटना: सर्वदलीय बैठकपछि ७ बुँदे संयुक्त अपिल,
साउन-१३
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्लो समय देखिएका घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सात बुँदे संयुक्त अपिल जारी गरेको छ।
बैठकपछि जारी वक्तव्यमा हालैका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
सर्वदलीय बैठकले नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधि तथा उत्तेजनाबाट टाढा रहन नागरिकलाई आग्रह गरेको छ। लोकतान्त्रिक व्यवस्थामा देखिने असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भन्दै सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिएको छ।
बैठकमा प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई विस्तार गर्न राजनीतिक दलका स्थानीय तहका समितिहरूलाई निर्देशन दिइएको छ।

