जापानमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुग्यो,
साउन-१३
काठमाडौं -जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी छन् ।
प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान १०ः३० बजेसम्म भूकम्पमा परी १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमध्ये केहीको मृत्यु भूकम्पसँग सम्बन्धित कारणबाट भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।
‘कुमामोतो भूकम्पबाट मानवीय क्षति, भवन भत्किनु, आगलागी र सडकमा क्षति लगायतका व्यापक प्रभाव देखिएको छ,’ ताकाइचीले उल्लेख गरेकी छन् । उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन् । साथै, भूकम्प प्रभावित सबैप्रति सरकारको सहानुभूति रहेको बताएकी छन् ।

