आज तीनओटा संसदीय समितिको बैठक बस्दै,
साउन- २२
काठमाडौँ - आज तीनओटा संसदीय समितिको बैठक बस्ने भएको छ। प्राप्त सूचनाअनुसार आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।
बिहान १०:३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची तय गरिएको छ।
यसैगरी पूर्वाधार विकास समितिको बैठकमा विद्युत्का वितरण लाइन र पोलहरू व्यवस्थित नगरिएका कारण सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा विस्तृत छलफल हुनेछ।

