जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापामा पाँच जनाको मृत्यु,
साउन -२८
भद्रपुर- जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ।
जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्।
सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन्। स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका रहेको बताएका छ्न।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमण भएपछि उक्त भाइरसले मस्तिष्कमा असर गर्छ।

