नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

बैशाख २९, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । 

निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए । 

उनका अनुसार आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ । यही क्रममा आचारसंहिताको उलंघन हुने गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र  माओवादी केन्द्र बागमती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।​

शुक्रबार हुने निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् । 

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरू आ–आफ्नो मतदानकेन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिई सकिएको र सो बमोजिम निर्वाचन  सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ।  ​

१२ May २०२२ , ५:२८pm
हाम्रो आवाज