नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
बन्दीपुर गाउँपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

बन्दीपुर गाउँपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

दमौली, २२ चैत (रासस) । तनहुँको बन्दीपुर गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले सोमबारदेखि निस्सा वितरण सुरु गरेको हो । 

राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिका–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने अध्यक्ष थापाले बताउनुभयो । 

अध्यक्ष थापाका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब ३२५  भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाँै, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उहाँले भन्नुभयो । 

गाउँपालिकाले आज वडा नं ४ र ५ मा निस्सा वितरण गर्दैछ । वडा नं ४ मा ७८ र ५ मा ८४ जनालाई निस्सा वितरण गरिने थापाले बताउनुभयो । “निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्छ”, उहाँले भन्नुभयो । 
 

५ Apr २०२२ , ८:२८am
हाम्रो आवाज