नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
भोट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

भोट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

बैशाख २८, रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । 

गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हेलिकोप्टर चढेर गाउँ फर्किएका हुन् ।

सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघि पनि हेलिकोप्टर चढेर भोट हाल्न गाउँ पुग्ने गरेका थिए । काठमाडौं बस्ने तथा देश बाहिर पुगेका लाङटाङ क्षेत्रका नागरिक निर्वाचनको समयमा गाउँ आउने गरेको लामाले बताए । 

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुग्न काठमाडौंबाट स्याफ्रुबेसीसम्म गाडी र स्याफ्रुबेसीबाट पैदल यात्रा पछि मात्र पुगिन्छ । काठमाडौंबाट स्याफ्रुसम्म गाडीमा एक दिन र स्याफ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेर लाङटाङ पुगिन्छ । लाङटाङ ट्रेकिङ टुरिजमको रूपमा समेत चिनिन्छ । 

गोसाइँकुण्ड गाउँपालिका(४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ । लाङटाङ क्षेत्रमा तीन सय ६३ जना मतदाता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको बताइएको छ । 

११ May २०२२ , ५:४८pm
हाम्रो आवाज