नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
त्रिभुवन विमानस्थलबाट भित्रिएको ९ करोडको कोकिन कसको ? कारोबारमा संलग्न अर्का योजनाकार भारतमा पक्राउ

त्रिभुवन विमानस्थलबाट भित्रिएको ९ करोडको कोकिन कसको ? कारोबारमा संलग्न अर्का योजनाकार भारतमा पक्राउ

भदौ १६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मेशिनबाट पार भएर काठमाडौँ भित्रिएको ९ करोड मूल्य पर्ने कोकिन कारोबारमा संलग्न ३ जना विदेशी लागु औषध नियन्त्रण ब्यूरोको हिरासतमा छन् । दक्षिण अफ्रिकन नागरिक ३० वर्षीया सिर्ले गामाले भदौ ३ मा २ किलो ९६६ ग्राम कोकिन काठमाडौँ ल्याएकी थिइन् । 

तस्कर समूहले सो कोकिन भारत लाँदै थिए । भारतको नयाँ दिल्लीमा कोकिन कुरेर बसेकी थिइन्, नाइजेरियन महिला मारियान । तर, काठमाडौँमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जफत गरेपछि मारियानले कोकिन पाइनन् । भारतीय प्रहरीले नयाँ दिल्लीबाट मारियानलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले रातोपाटीलाई बताए । थापाले भने–‘मारियानले  भारतीय नागरिक विजय सिंहलाई कोकिन लिन काठमाडौँ पठाएको अनुसन्धानबाट थाहा भएको छ ।’ 

भारतको कर्नाटक घर भएका ३३ वर्षीय विजय सिंहलाई ब्यूरोको टोलीले भदौ ८ मा काठमाडौँबाट पक्राउ गरेको थियो । दक्षिण अफ्रिकन सिर्ले गामा भदौ ३ मा कमलादीस्थित होटल गंगोरबाट पक्राउ परेकी थिइन् । सो कोकिन कारोबारमा संलग्न अर्की आरोपी हुन्, दुई वर्षदेखि नेपालमा रहेकी २६ वर्षीया तान्जानियन युवती गेट्युड लियोनार्द किमारो । सिर्ले गामा र विजय सिंहलाई प्रहरीले पक्रेको थाहा पाएर भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । 


३ विमानस्थल सहजै पार !

सिर्ले गामा दक्षिण अफ्रिकाको जोहानेशबर्गमा बस्छिन् । जोहानेशबर्गबाट कोकिन बोकेर उनी केपटाउन विमानस्थलमा गइन् । केप टाउन एयरपोर्टबाट सजिलै पार भएकी गामा त्यहाँबाट कतारको दोहा पुगिन । दोहा विमानस्थलबाट पनि कोकिन पार गराएर उनी काठमाडौँ आइन् । त्रिभुवन विमानस्थलका एक्सरे मेशिनले उनले सुटकेसको दायाँ र बायाँतर्फ फल्स बटम बनाएर ल्याएको कोकिन डिटेक्ट गरेन । विमानस्थलबाट उनी कमलादी स्थित गंगोर होटल पुगिन् । 

लागु औषध नियन्त्रण ब्यूरोका अनुसन्धान अधिकृतले कतारबाट कोकिन आउँदै गरेको सुराक पाएका थिए । तर, सुराक पाउँदा उनी विमानस्थल पार भइसकेकी थिइन । त्यसपछि प्रहरीले काठमाडौँका शङ्कास्पद होटलहरुमा छापा मारेको थियो । उनी कमलादी स्थित गंगोर होटलमा फेला परिन । काठमाडौँ ओर्लिएर उनले नेपालमा ३० दिन बस्न पाउने अन अराइभल पर्यटक भिसा लिएकी थिइन् । 

कोकिन कसको ?

सिर्ले गामा जोहानेशबर्गमा स्टोर किपरको काम गर्थिन् । उनले श्रीमान् गुमाएकी छिन् । साथमा एउटी छोरी छिन् । नाइजेरियाका एकजना पुरुषले आफूलाई २ किलो ९६६ ग्राम कोकिन दिएर नेपाल पठाएको गामाले ब्यूरोका अनुसन्धान अधिकृतलाई बताएकी छिन् । गामाले प्रहरीसँग भनेकी छिन्– ‘मलाई कोकिन दिने नाइजेरियनले गंगोर होटलमा आउने मान्छेलाई दिएर पठाउनु भनेका थिए ।’ 

नेपाल गएर तान्जानियन युवती गेट्युड लियोनार्द किमारोसँग सम्पर्क गर्न भनिएको थियो । किमारोसँग उनले दरबारमार्गको केएफसी रेस्टुरेन्टमा भेटिन् । त्यतिबेला सम्म लागु औषध नियन्त्रण ब्यूरोका डिएसपी फणिन्द्र प्रसाईं नेतृत्वको टोलीले गामालाई पक्राउ गरिसकेको थियो । तर, किमारोलाई सो कुरा थाहा थिएन । 

‘किमारोसँग हामीले गोप्य रूपमा भेट्यौँ’ ब्यूरोका एसएसपी थापा भन्छन्–‘किनकि, हामी भरियामात्रै समात्ने भन्दा पनि कारोबारको जरोमा पुग्न चाहन्थ्यौँ ।’ 

कोकिन सुरक्षित रहेकोमा विश्वस्त भएपछि गेट्युड लियोनार्द किमारोले भारतबाट विजय सिंहलाई बोलाइन् । सिंहलाई नयाँ दिल्ली बस्ने मारियानाले लिन पठाएकी थिइन् । ‘मारियाना भन्दा अगाडी अर्को लेयर पनि छ,’ एसएसपी थापा भन्छन्, ‘सो लेयरका एकजना अझै फरार छन् ।’

कोकिनको मालिक जोहानेशबर्गबाट पठाउने नाइजेरिया वा भारतमा फरार छैटौँ लेयरका सदस्य मध्ये एकजना हुनसक्ने अनुसन्धान अधिकृतहरूको निष्कर्ष छ । पक्राउ परेका आरोपीहरूले ‘कोकिन मालिक’का बारेमा कुनै सुराक दिएका छैनन् । 

एजेन्टको म्यासेज ‘बोर्डर टाइट छ’

तान्जानियन गेट्युड लियोनार्द विश्व भाषा क्याम्पसमा नेपाली भाषा सिक्ने आवरणमा २ वर्षदेखि नेपालमा बसेकी छिन् । काठमाडौँको क्षेत्रपाटीमा २० हजार मासिक भाडामा तिर्ने गरी उनले फ्ल्याट लिएकी छिन् ।  

कोकिन कारोबारीले यसअघि पनि भारतमा कोकिन पठाएको अनुसन्धानबाट थाहा भएको छ । गेट्युड लियोनार्द किमारोले ह्वाट्स एप म्यासेजमा भनेकी छिन्–‘नेपाल र भारतको सिमाना ‘बोर्डर’ आजभोलि टाइट छ ।’  

कोकिनका अन्तर्राष्ट्रिय कारोबारीले किमारोलाई प्रहरीको काउन्टर सर्भिलेन्स गर्न र भारतबाट आउने भरियालाई कोकिन जिम्मा लगाउने एजेन्टको रूपमा काठमाडौँमा राखेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

पक्राउ गरिएका ३ जनाबिरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । कोकिन कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ देखी २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

१ Sep २०२१ , १२:०५pm
हाम्रो आवाज