नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
निषेधाज्ञामा मजदुरका सारथि लीला

निषेधाज्ञामा मजदुरका सारथि लीला

गलकोट, ९ असार (रासस) । कोरोना महामारीको दोस्रो लहर आएसँगै देशभरि लकडाउन गरियो । लकडाउनमा पूर्वाधार निर्माणमा भने खुकुलो नीति अपनाइयो । दैनिक ज्यालादारी गरेर गाँस चलाउन सहज हुने अपेक्षा गरिए पनि सोचेअनुरुप योजना आयोजनाका काम हुन सकेन । काम रोकिँदा मजदुरको घरमा चुलो बाल्नसमेत सकस भएपछि बागलुङकी लीला खड्काले मजदुरका लागि राहत सहयोगको अभियान थाल्नुभयो ।

पहिलोपटक लकडाउन हँुदा सरकारले राहत वितरण गरे पनि दोस्रो लहरमा भने मौन रह्यो । यसपटक सरकारले वास्ता नगरेकाले विभिन्न सङ¬्घसंस्था र व्यक्तिसँगको समन्वयमा लकडाउनकै कारण खान नपाएका मानिसलाई राहत सहयोग गरेको खड्का बताउनुहुन्छ । दैनिकरूपमा काम गरेर आफ्ना बालबच्चाको पेट पालेका मजदुरलाई दोस्रोपटकको लकडाउनमा निकै कष्ट भएको उहाँको भनाइ छ । मजदुरहरूले काम नगरी चामल, नुन, तेल किन्न सक्दैनन् ।

लकडाउनको ५२ दिनमा ३४० घरपरिवारलाई रु पाँच लाख ४० हजार बराबरको खाद्यान्न वितरण गरेको खड्काले बताउनुभयो । बागलुङमा मात्र नभएर पर्वतमा रहेका मजदुर तथा आश्रमका मानिसलाई खाद्यान्न अभाव भएको भन्ने खबर आएपछि राहत सामग्री वितरण गरेको खड्काले जानकारी दिनुभयो । अहिलेसम्म बागलुङ नगरपालिका–१, २, ३, ४, ६, ७, ९, १० का मजदुुर, अनाथ बालबच्चा, छोराछोरीले नहेरेका आमाबुबा, एकल महिला, सुत्केरी, अपाङ्गता भएका, गर्भवती, होटलमा भाँडा माझ्ने महिला, बोर्डिङ स्कुलमा लुगा धुने महिला, आश्रममा बस्ने आमाबुबालगायतलाई २५ प्रकारका राहत सामग्री वितरण गरिएको खड्काको भनाइ छ ।

यस क्रममा विभिन्न समस्या र चुनौती देखिए पनि हल गरेर दिनरात नभनी निरन्तर सेवामा लागेको खड्का बताउनुहुन्छ । “म लामो समयदेखि सामाजिक सेवा र कर्ममा समर्पित भएर लागिरहेकी छु । अहिले कोरोना महामारीले गर्दा मानिस समस्यामा परेको कसरी हेरेर बस्ने रु”, उहाँले भन्नुभयो । सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङका प्रहरी जवान रामचन्द्र चापागाईँ, प्रहरी देवी घिमिरे, मञ्जु थारू, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सुमन बाँस्कोटा, महासचिव सावित्रा केसी, सदस्य गीता खड्का, आजीवन सदस्य पम्फा किसान र महिला हित सहकारीका कार्यालय सहयोगी सन्तोषी मल्लले अभियानमा सक्रियतापूर्वक सघाएको खड्काले बताउनुभयो ।

राहत सङ्कलन गरेर मात्र नहुने, राहतलाई वितरण गर्नका विभिन्न ठाउँमा जानका लागि पनि निकै समस्या भएको खड्का बताउनुहुन्छ । निरन्तर वर्षाका कारण पनि कठिनाइ भएको र आफ्नै खर्चमा गाडी लगेर गाउँगाउँमा गएर राहत वितरण गरेको उहाँको भनाइ छ । विभिन्न व्यक्ति सङ्घसंस्थासँग मात्र राहत उठाएर वितरण गरेर चर्चित हुने आफ्नो कुनै सोच नरहेको खड्काको स्पष्टोक्ति छ । “मलगायत हाम्रो सम्पूर्ण टिमले आफ्नो व्यक्तिगत तर्फबाट पनि राहत दिएका छौँ । आफैँ खर्च गरेर विभिन्न ठाउँमा गएर राहात वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यो सङ्कटमा सबैभन्दा ठूलो मानवीय धर्म सम्झेर काम गरेका छौँ ।”

लकडाउनले गर्दा खान नपाएका मानिसलाई सामुदायिक सेवा केन्द्र बागलुङका अध्यक्ष खड्काको अगुवाइमा राहत वितरणमा जुटेको सामुदायिक सेवा केन्द्र बागलुङका प्रहरी जवान चापागाईँ बताउनुहुन्छ । गुठीका घर–घरमा गएर एक पोका नुन, एक माना चामल भए पनि राहत सङ्कलन गरी राहत वितरण गरेको उहाँको भनाइ छ । “हामीले राहत सङ्कलन गरेको थाहा पाएर गुठीका युवाहरूले विदेशबाट पनि राहतका लागि रकम पठाएका छन्”, उहाँले भन्नुभयो ।

२३ Jun २०२१ , ११:०६am
हाम्रो आवाज