नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
उपराष्ट्रपति पुन कला सिर्जनामा रमाउँदै   

उपराष्ट्रपति पुन कला सिर्जनामा रमाउँदै   

काठमाडौँ, १० पुस : सधैँजसो राजनीतिक तथा कूटनीतिक भेटघाटमा व्यस्त उपराष्ट्रपति नन्दबहादुर पुन आज फरक शैलीमा देखिनुभएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारका बीचमा उपराष्ट्रपति पुनले आफूलाई अब्बल कलाकारका रुपमा पुष्टि गर्नुभएको छ । नेपाली कलाकार धर्मराज शाक्य र चिनियाँ कलाकार झेन झोन्गीले सिर्जना गर्नुभएका कलाकृतिको बबहरमहलस्थित नेपाल कला परिषद्मा आज उद्घाटन गर्ने क्रममा उपराष्ट्रपति पुनले क्यानाभासमा विभिन्न ब्रस प्रयोग गरी नेपालको चित्रमाथि चन्द्र भएको आकृति निर्माण गर्नुभयो । यसका लागि उहाँलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी‘श्यामल’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का कुलपति केके कर्माचार्यलगायतले हौसला थप्नुभएको थियो ।    
    
नेपाल अन्तरराष्ट्रिय प्रदर्शनी सङ्घले आयोजना गरेको उक्त प्रदर्शनी यही पुस १४ गतेसम्म जारी रहने छ । नेपाल र चीनको मैत्री सम्बन्धलाई थप निकट बनाउने उद्देश्यले दुवै देशका कलाकारले सम्बन्धित मुलुकका जनजीवन, संस्कृति, परम्परागत सभ्यतालाई कलाकृतिमार्फत उजागर गर्न प्रदर्शनी आयोजना गरिएको हो । सन् १९५५ अगष्ट १ मा दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो ।    
    
नेपाली कलाकार शाक्य नाफाका प्राज्ञसमेत हुनुहुन्छ । उहाँका २४ चित्र र १० मूर्ति प्रदर्शनीमा समावेश गरिएको छ । त्यहाँ राखिएका विभिन्न देवीदेवतासँग सम्बन्धित चित्र र मूर्ति आकर्षक देखिएका छन् । गणेशको चित्रले अवलोकन गर्न आउने जो कोहीको पनि मन जितेको छ । दुवै देशको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्न प्रदर्शनी उपयोगी हुने प्राज्ञ शाक्यले बताउनुभयो ।    
    
त्यसैगरी चिनियाँ कलाकार झेन चीनको हवाई कला विश्वविद्यालयका डीन हुनुहुन्छ । दुई लाख ४० हजार वर्ग फिटमा फैलिएको उक्त विश्वविद्यालय विश्वमा चित्रकला सिक्नेका लागि उर्वर स्थान मानिन्छ । उहाँले बनाएका चिनियाँ जीवनशैली, प्राचीन सभ्यता, संस्कृतिसँग सम्बन्धित छन् । झेनले सन् २०१६ मा पहिलो पटक नेपाल आउँदा यहाँको विविधताका साथै रमणीयस्थलबाट आनन्द लिएको अनुभव सुनाउँदै आफ्ना सिर्जनालाई नेपालमा प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँको कलामा विशेषपत्रमा सिसाकलम प्रयोग गरिएको छ ।    
प्रदर्शनीमा राससका अध्यक्ष श्यामलले प्रदर्शनीले दुवै देशको संस्कृतिलाई एकापसमा अध्ययन गर्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “कलाकार झेनको चित्रमा मधुरोपना छ, यसलाई बुझ्न एकाग्रताका खाँचो हुन्छ । निकै दक्ष कलाकारले लामो अनुभवलाई सङ्ग्रह गरेपछि मात्र यस्तो चित्र सिर्जना हुन्छ ।” सामाजिक रुपान्तरणका लागि कला सशक्त माध्यम भएकाले हाम्रा सम्पदा र संस्कृतिलाई संरक्षण गर्नुपर्ने सुझाव नाफाका कुलपति कर्माचार्यले दिनुभयो । उक्त कार्यक्रममा वरिष्ठ कलाकार कालु कुमाले, पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सम्पदा संरक्षण अभियानकर्मी दुर्गा विसुराल, चिनियाँ कलाकार झेन र दोभाषे सुहाउलाई समेत सम्मान गरिएको थियो । रासस   
  

२६ Dec २०१९ , ८:३०pm
हाम्रो आवाज